काठमाडौं । अनुभवको फर्जी कागजात बुझाएको आरोपमा छानबिनमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा अयोग्य ठहरिएका छन्। मन्त्रिपरिषद्ले गठन गरेको उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वको छानबिन समितिले ओझा आवश्यक योग्यता पूरा नगरेको ठहर गर्दै प्रतिवेदन बुझाएको हो।
समितिले ओझाको कार्यक्षमता, पदीय जिम्मेवारी, आचरण र अनुभवको मूल्यांकन गर्दा उच्च व्यवस्थापनको अनुभव नभएको र योग्यता ढाँटेर नियुक्ति लिएको निष्कर्ष निकालेको छ। बीमा क्षेत्र नियमन गर्ने निकायको अध्यक्षका लागि कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव आवश्यक भए पनि ओझाले पत्रकारितामात्रै गरेको र सामान्य जागिरेका रूपमा मात्रै अनुभव भएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ।
गत असार ३० गते मन्त्रिपरिषदले ओझालाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो। समितिमा पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बीमा समितिका पूर्वसदस्य कपिलदेव ओली सदस्य थिए। समितिले सम्बन्धित सञ्चारगृहहरूसँग ओझाको अनुभवसम्बन्धी कागजात मागेर सत्यापनसमेत गरेको थियो।
ओझाले निलम्बनविरुद्ध सर्वोच्च अदालतमा गए पनि साउन १९ गतेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ। अब मन्त्रिपरिषद्ले समितिको प्रतिवेदनका आधारमा ओझालाई पदमुक्त गर्दै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउनेछ। साथै, योग्यता ढाँटेर नियुक्ति लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भ्रष्टाचार मुद्दा दायर गर्न सक्ने सम्भावना रहेको छ।
छानबिन समितिले अयोग्य ठहर गरेसँगै ओझाको प्राधिकरण फर्किने बाटो बन्द भएको छ।
Comment