काठमाडौं। नेपाली बजारमा प्रतिक्षित सुजुकीको पहिलो इलेक्ट्रिक कार मारुति सुजुकी ई-भिटारा अन्ततः नेपाल भित्रिएको छ।
सुजुकीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्स अन्तर्गतको सिजी मोटोकर्पले शुक्रबार धोबीघाटस्थित शोरुममा विशेष कार्यक्रममार्फत ई-भिटारा डिस्प्ले गर्दै यसको औपचारिक आगमनको घोषणा गरेको हो।
कम्पनीका अनुसार यो गाडी भदौ ३ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा सार्वजनिक प्रदर्शनमा राखिनेछ।
आकर्षक डिजाइन र उपयुक्त आकार
ई-भिटाराको डिजाईन र आकार नेपाली सडकका लागि उपयुक्त रहेको अनुमान गरिएको छ। गाडीको लम्बाइ ४.२ मिटर, ह्वीलबेस २७०० एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ।
बाहिरी स्वरूपमा एरोडाइनामिक डिजाइन, सिग्नेचर ग्रिल, आकर्षक एलईडी डीआरएलएस, १९ इन्च अलोय ह्वील र प्यानोरामिक सनरुफ राखिएको छ। सुरुमा ब्ल्याक, पर्ल ह्वाइट, नेभि ब्लु, मेटालिक सिल्भर र रेड–ब्ल्याक डुअल टोन गरी पाँचवटा रंग विकल्प उपलब्ध हुने कम्पनीले जनाएको छ।
इन्टेरियर र आधुनिक प्रविधि
ई-भिटाराको इन्टेरियरलाई प्रिमियम र फ्युचरिस्टिक बनाइएको छ। यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल ड्राइभर डिस्प्ले, डुअल टोन क्याबिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जर र एम्बियन्स लाइटिङ उपलब्ध छन्।
भेन्टिलेटेड सिट, प्यानोरामिक सनरुफ र १९ इन्च अलोय ह्वीलहरूले लक्जरी अनुभव थप बढाउँछन्। सुजुकीमा पहिलोपटक प्रयोग गरिएको टु-स्पोक स्टेरिङ ह्वीलले इन्टेरियरलाई थप आधुनिक र स्टाइलिश बनाएको कम्पनीको दाबी छ।
यात्रा सुनिश्चित गर्ने आधुनिक सुरक्षा प्रणाली
सुरक्षातर्फ ई-भिटारामा नयाँ पुस्ताको प्रविधि प्रयोग गरिएको छ। यसमा ‘उन्नत चालक सहायता प्रणाली’ (लेवल–२) समावेश गरिएको छ, जसले चालकलाई सजिलो र सुरक्षित बनाउँछ।
साथै ३६० डिग्री क्यामेरा, ६ एयरब्याग, अगाडि र पछाडि पार्किङ सेन्सर जस्ता सुविधाले दुर्घटनाको जोखिमलाई कम गर्नेछन्।
गाडीमा विद्युतीय पार्किङ ब्रेक र अटो होल्ड, ब्रेक नियन्त्रण प्रणाली, पाङ्ग्रा फिसलिन नदिने नियन्त्रण, उकालोमा मद्दत गर्ने सुविधा र टायरको चाप जाँच गर्ने प्रणालीसमेत जडान गरिएको छ।
पर्फमेन्स र ब्याट्री क्षमता
ई-भिटारामा ४९ किलोवाट र ६१ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याक उपलब्ध छन्। सानो ब्याट्रीले करिब ४०० किलोमिटर, ठूलो ब्याट्रीले ५०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
यसमा फास्ट चार्जिङ सुविधा छ जसले ३० मिनेटमै करिब ८० प्रतिशत चार्ज गर्न सक्छ भने सामान्य घरायसी चार्जर प्रयोग गर्दा ७–८ घण्टामा फुल चार्ज हुन्छ। मोटरले १६० हर्सपावरभन्दा बढी शक्ति र २८० एनएम टर्क उत्पादन गर्नेछ। ०–१०० किलोमिटर प्रतिघण्टा गति पाउन करिब ९ सेकेन्ड लाग्ने अनुमान गरिएको छ।
कति पर्छ मूल्य ?
कम्पनीले मूल्य अझै सार्वजनिक गरेको छैन। भारतमा यसको अनुमानित मूल्य २५–३० लाख भारतीय रुपैयाँ रहनेछ भने नेपालमा करसहित करिब ६५–७५ लाख रुपैयाँको दायरामा मूल्य पर्न सक्ने अनुमान गरिएको छ।
मारुति सुजुकीले यो कारलाई टोयोटासँग सहकार्यमा तयार गरेको हो। दुवै कम्पनीले ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म विकासमा मिलेर काम गर्दै आएका छन् र भविष्यमा साझा मोडलहरू उत्पादन गर्ने योजना सार्वजनिक गरेका छन्।
यसरी हेर्दा, मारुति सुजुकी ई-भिटारा नेपाली उपभोक्ताका लागि मिड-साइज इलेक्ट्रिक एसयुभीको नयाँ विकल्प बन्ने देखिन्छ। मूल्य घोषणा भएसँगै यो कार बजारमा ठूलो चर्चा पाउने निश्चित छ।
Comment