काठमाडौं । अर्थ मन्त्रालय र यसको मातहतका निकायहरूमा सहसचिवदेखि महानिर्देशकसम्मको पदस्थापनमा ठूलो फेरबदल गरिएको छ। साउन ३० गते मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न वरिष्ठ अधिकृतहरूलाई सरुवा गरी नयाँ जिम्मेवारी दिइएको हो।
निर्णयअनुसार अर्थ मन्त्रालयमा कार्यरत सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखामा पठाइएको छ भने उद्धव प्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, भन्सार विभागका महानिर्देशक रमेश भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखामा पठाइएकाे छ भने सहसचिव श्याम प्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाइएको छ।
सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा पदस्थापन गरिएको छ भने भरत मणी पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकमा स्थानान्तरण गरिएको छ। ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ भने भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई पनि त्यही जिम्मेवारी दिइएको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख दिलिप कुमार गौतमलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ भने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदम कुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखमा सरुवा गरिएको छ।
यस्तै, सहमहालेखा नियन्त्रक विष्णु प्रसाद ज्ञवालीलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिइएको छ।
मन्त्रालयले अनुभव, दक्षता र नेतृत्व क्षमता अनुसार गरिएको यो फेरबदलले कार्यसम्पादनमा गति ल्याउने अपेक्षा व्यक्त गरेको छ।
Comment