काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ४ अर्ब नाघेको छ । हाल संचालनमा रहेका १४ ठुला निर्जीवन कम्पनीहरुले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।गत वर्ष कम्पनीहरुले ४ अर्ब १५ करोड ९७ लाख १७ हजार रुपैयाँ नाफा कमाएका हुन् । यद्यपि, यो अघिल्लो वर्षको तुलनामा भने २९.९३ प्रतिशत कमी हो । अघिल्लो वर्ष ती कम्पनीहरुले ५ अर्ब ८५ करोड २९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
आधा दर्जन कम्पनीको नाफामा गिरावट आएको छ । एक कम्पनी नोक्सानीमा छ । यी बाहेकका अन्य कम्पनीहरुले भने नाफा बढाएका छन् । गत वर्ष सर्वाधिक नाफा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७१ करोड ३१ लाख रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३.६३ प्रतिशत धेरै हो ।
नाफा रकमकै आधारमा दोस्रो स्थानमा भने नेको इन्स्योरेन्स छ । कम्पनीले गत वर्ष ५५ करोड ८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, अघिल्लो वर्षको तुलनामा नेकोको नाफा ६.७२ प्रतिशत घटेको हो । तेस्रो सूचीमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि ५३ करोड २३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा वृद्धिदर भने ५.९५ प्रतिशत छ ।
व्यापारमा नम्बर वान् शिखर इन्स्योरेन्सले पनि ४५ कराड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १.६६ प्रतिशत धेरै हो । तर, नाफा बढाउन भने प्रभू इन्स्योरेन्स तगडा देखिएको छ । कम्पनीले एकै वर्ष नाफाको आकार ३९.२४ प्रतिशत बढाएको हो । गत वर्ष कम्पनीले २१ करोड १९ लाख रुपैयाँ कमाएको छ । जबकि, अघिल्लो वर्षमा १५ करोड २२ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
नाफा वृद्धिदरकै आधारमा दोस्रो सूचीमा रहेको सानिमा जिआइसीले ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १०.१३ प्रतिशत बढी हो । गत वर्ष खुद नाफा दोहोरो अंकमा बढाउने यी दुई कम्पनी मात्र हुन् । यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको खुद नाफा पनि ६.६६ प्रतिशत वृद्धि भई १६ करोड ११ लाख रुपैयाँ पुगेको छ । यता, नेपाल इन्स्योरेन्सको नाफा पनि ४.१८ प्रतिशत बढेर ३१ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।
तर, गत वर्ष नेशनल इन्स्योरेन्स भने ६२ करोड ३९ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । जबकि, अघिल्लो वर्ष कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, ओरियण्टल इन्स्योरेनसको नाफा पनि ८६.१९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३१.८३, आइजीआई प्रुडेन्सियलको २७.८३ प्रतिशत, युनाइटेड अजोडको १२.८७ प्रतिशत, सलिकोको १२.७२ प्रतिशत घटेको देखिन्छ ।
कसले कति कमाए नाफा ?
Comment