काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा (एनपीए) बढेको छ। अघिल्लो वर्ष ३.७४ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत एनपीए २०८२ असार मसान्तसम्म आइपुग्दा बढेर ४.२२ प्रतिशत पुगेको छ। एनपीए बढ्नु भनेको बैंकले दिएको कुल कर्जामध्ये नियमित सावाँब्याज असूली हुन नसकेको रकमको अनुपात हो, जसले बैंकको नाफा र जोखिम व्यवस्थापनमा सीधा असर पार्छ।
गत वर्ष सबैभन्दा कम एनपीए कायम गर्न सफल बैंक एभरेष्ट हो, जसको एनपीए अघिल्लो वर्षको ०.७१ प्रतिशतबाट घटेर ०.३७ प्रतिशतमा पुगेको छ। त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्डले एनपीए २.१४ प्रतिशतबाट १.४७ प्रतिशतमा, राष्ट्रिय वाणिज्य बैंकले ४.२८ प्रतिशतबाट ३.५९ प्रतिशतमा, नविल बैंकले ४.४५ प्रतिशतबाट ४.२७ प्रतिशतमा, कृषि विकास बैंकले ३.९१ प्रतिशतबाट ३.२६ प्रतिशतमा र माछापुच्छ्रे बैंकले ३.८६ प्रतिशतबाट ३.८३ प्रतिशतमा झार्न सफल भएका छन्।
तर, सबैभन्दा बढी एनपीए हिमालयन बैंकको रहेको छ, जसको अनुपात अघिल्लो वर्षको ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ। दोस्रो स्थानमा कुमारी बैंक ६.४२ प्रतिशत र तेस्रोमा एनआइसी एशिया बैंक ६.२८ प्रतिशतका साथ रहेका छन्। त्यस्तै, एनआइएमबी बैंकको एनपीए ५.८५ प्रतिशत र प्राइम बैंकको ५.५६ प्रतिशतमा पुगेको छ। प्रभु, सिटिजन, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, नेपाल बैंक र नविल बैंकको एनपीए ४ प्रतिशतभन्दा बढी तर ५ प्रतिशतभन्दा कम छ।
एनपीए बढ्दा बैंकहरूले सम्भावित जोखिमका लागि प्रोभिजनिङ बढाउनु परेकाले सञ्चालन नाफा भए पनि सञ्चित नोक्सानीबाट बाहिरिन सकेका छैनन्। यसै कारण गत वर्ष ४ बैंकको वितरणयोग्य नाफा ऋणात्मक रह्यो, जसका कारण ती बैंकहरूले लाभांश वितरण गर्न पाएनन्।
Comment