बैंकिङ क्षेत्रमा नाफाको उछाल, नबिल पहिलो, एनआइएमबि दोस्रो, प्रभु र कुमारीको चमत्कारिक प्रगति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुको खुद नाफामा उल्लेखनीय वृद्धि देखिएको छ। २० वटै वाणिज्य बैंकहरुले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कुल ७१ अर्ब १२ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन भएको छ, जुन अघिल्लो आवको तुलनामा ४३.५५ प्रतिशत बढी हो। अघिल्लो वर्ष यो नाफा ४९ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ मात्र थियो।

नाफाको आधारमा यस वर्ष पनि नबिल बैंक ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफासहित पहिलो स्थानमा रह्यो, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ नाफा र ६४.४४ प्रतिशतको वृद्धिदरसहित उक्लिँदा, ग्लोबल आइएमई बैंक ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा र १.१० प्रतिशत वृद्धिदरसहित तेस्रो स्थानमा झर्यो। यी दुई बैंकबीच दोस्रो स्थानको प्रतिस्पर्धा निकै कडा देखिएको छ।

सबैभन्दा ठूलो उछाल प्रभु बैंकमा देखियो। नाफामा ९६५.४१ प्रतिशतको अप्रत्याशित वृद्धि गर्दै ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ कमाएको प्रभु बैंक चौथो स्थानमा उक्लियो। छैटौं स्थानमा रहेको एभरेष्ट बैंकले पनि ३२.८१ प्रतिशतले नाफा बढाएर ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ।

वृद्धिदरका आधारमा कुमारी बैंक अग्रस्थानमा रह्यो, जसको नाफा ४५९ गुणा बढेर २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ। नेपाल बैंकको नाफा १३३ गुणा बढेर ३ अर्ब ७७ करोड ३० लाख पुगेको छ भने माछापुच्छ्रे बैंकले पनि ९२.४५ प्रतिशतको वृद्धि गर्दै २ अर्ब १ करोड १४ लाख नाफा कमायो।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशत, कृषि विकास बैंकको ४८.८८ प्रतिशत, एनएमबिको ४६.२२ प्रतिशत, लक्ष्मी सनराइजको ४०.९७ प्रतिशत, हिमालयनको २२.१५ प्रतिशत, प्राइमको १४.७२ प्रतिशत, सिद्धार्थको १०.२४ प्रतिशत र सानिमा बैंकको ७.२५ प्रतिशतले वृद्धि भएको छ।

तर, सबै बैंकको स्थिति उत्साहजनक रहेन। चार बैंकको नाफामा गिरावट आयो। एनआइसी एशिया बैंकको नाफा ८५.५२ प्रतिशत घटेर १६ करोडमा झर्यो। यस्तै, नेपाल एसबिआई बैंकको नाफा ९.८६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ७.५१ प्रतिशत र सिटिजन्स बैंकको २.०८ प्रतिशतले घटेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।