एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पबीच शुक्रवार हुने शिखरवार्तामा युक्रेन युद्ध मात्र नभई बृहत्तर सुरक्षा एजेन्डामा समेत कुराकानी हुने भएको छ ।
पुटिनका सहयोगी युरी उशाकोभले बिहीवार पत्रकारहरूलाई यसको जानकारी दिएका हुन् ।
शिखरवार्ताको अन्तिम तयारी चलिरहेको र त्यसमा रुसका शीर्ष अधिकारीहरू पनि उपस्थित हुने उशाकोभले बताए ।
दुई राष्ट्रपतिबीचको वार्ता अलास्काको एन्कोरेजमा रहेको जोइन्ट बेस एल्मेनडोर्फ–रिचार्डसनमा हुनेछ ।
छोटो सूचनाका आधारमा शिखरवार्ता हुन लागेकाले सबै तयारी द्रुत गतिमा भइरहेको उशाकोभको भनाइ छ ।
उक्त शिखरवार्ता स्थानीय समयअनुसार बिहान साढे ११ बजे सुरु हुनेछ । पुटिन र ट्रम्पले मात्र पहिला कुराकानी गर्नेछन् र उनीहरूसँग अनुवादक पनि रहनेछन् । त्यसपछि रुस र अमेरिकाका प्रतिनिधिहरूले सम्झौताको कुराकानी गर्नेछन् र दिवाभोजमा पनि त्यो वार्ता जारी रहनेछ ।
रुसी प्रतिनिधिमण्डलमा उशाकोभका साथै विदेशमन्त्री सर्गे लाभरोभ, रक्षामन्त्री आन्द्रे बेलुसोभ, अर्थमन्त्री एन्टन सिलुआनोभ र पुटिनका विशेषदूत किरिल दिमित्रिएभ पनि रहनेछन् ।
अमेरिकाका पनि पाँचजना प्रतिनिधि उपस्थित रहनेछन् ।
वार्ताको प्रमुख एजेन्डा युक्रेन युद्ध नै हुनेछ । तर, त्यससँगै शान्ति र सुरक्षा सुनिश्चित गर्ने एवं अहिलेका जल्दाबल्दा अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमा चर्चा गर्ने कार्यक्रम पनि रहेको उशाकोभले जानकारी दिए ।
अमेरिका र रुसबीचको द्विपक्षीय सहकार्यलाई थप बढाउने विषयमा कुराकानी हुनेछ । आर्थिक र व्यापारिक सम्बन्ध विस्तारलाई जोड दिइने उशाकोभको भनाइ छ ।
शिखरवार्ताको आरम्भमा पुटिन र ट्रम्पले संक्षिप्त टिप्पणी गर्नेछन् । वार्ता सकिएपछि उनीहरूले संयुक्त पत्रकार सम्मेलन पनि गर्नेछन् ।
छलफल कसरी अगाडि बढ्छ, वार्ताको समय त्यसैबाट निर्धारण हुने उशाकोभ बताउँछन् । सम्झौता टुंगिनेबित्तिकै प्रतिनिधिमण्डल रुस फर्किने उनको भनाइ छ ।
Comment