काठमाडौं । संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरी खतिवडाले राजीनामा दिएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा आफ्नो विचार राख्दै खतिवडाले कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नगरको भएपनि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको घोषणा गरेका हुन् ।
राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका हुन् ।
राजीनामा दिनु अघि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताए । निजामती सेवा विधेयकको प्रतिवेदनमा आफ्नो हस्ताक्षर रहेको बताए ।
राजनीतिमा कतिपय बेला नगरेको गल्ति समेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने र आफूमाथि त्यस्तै भएको बताए । आफूलाई कारबाहीको सिफारिस समेत नभएको उल्लेख गर्दै उनले भने, ‘ प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’
उनले सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कुटनीतिक नियुक्ति दिन नहुने र यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने र भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्ने उनले औंल्याए ।
गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति लागेको उनको भनाइ छ । सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको उनको भनाइ छ ।
Comment