काठमाडौं । आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘रिमै’ को प्रचारप्रसार अभियान सुरु भएको छ। सोही अभियान अन्तर्गत ३१ औं विश्व आदिवासी दिवसको अवसरमा गत शनिबार राजधानी काठमाडौंमा आयोजित र्यालीमा फिल्म टिमले सक्रिय सहभागिता जनाएको छ।
आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित र्यालीमा कलाकार, निर्माता, निर्देशक तथा फिल्मसँग सम्बन्धित सम्पूर्ण टोलीले सांस्कृतिक पहिरनमा सजिएर हातमा ब्यानर, पोस्टर र प्लेकार्ड बोकेर सहभागिता जनाए। परम्परागत धुन र नाचगानमार्फत उनीहरूले ‘रिमै’प्रति दर्शकको ध्यान खिचेका थिए।
सिनेमा टिमका अनुसार उनीहरूको सहभागिता केवल प्रचारको लागि मात्र नभई आदिवासी समुदायको आवाज बुलन्द गर्न र संस्कृति जगेर्नाका लागि भएको हो। निर्देशक खिल बहादुर गुरुङले ‘रिमै’ सिनेमा मार्फत आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौती दर्शकसामु प्रस्तुत गर्ने प्रतिबद्धता जनाए।
निर्देशक गुरुङले भने, “हामी सिनेमा मात्र होइन, समाजको आवाज पनि हो। ‘रिमै’मार्फत हामीले आफ्ना कथाहरू देखाउनेछौं, जुन आजसम्म धेरै हदसम्म ओझेलमा परेका छन्।”
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको पनि प्रमुख भूमिका रहेको छ।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन्। सिनेमा ‘रिमै’ सामाजिक, सांस्कृतिक र सामुदायिक पक्षलाई उजागर गर्दै नेपाली सिनेमा उद्योगमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
‘रिमै’ भदौ २० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ।
Comment