काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ परेका छन्। मृतकका आफन्तले जाहेरी दिएपछि प्रहरी वृत्त गौशालाले उनीहरूलाई पक्राउ गरी सोधपुछ सुरु गरेको हो।
पक्राउ परेका दुवै व्यक्ति आर्यघाटमा शव जलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ। एक मृतकका आफन्तको जाहेरीपछि शुक्रबार नै पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले जानकारी दिए।
जाहेरवालाको आरोप अनुसार, पक्राउ परेकाहरूले शवबाट हड्डी निकालेका थिए। ‘उनीहरूले हड्डी निकालेका हुन् कि होइनन्? हो भने कहाँ र कसलाई बेच्ने गरेका छन्? यसबारे अनुसन्धान भइरहेको छ,’ एसपी चन्दले बताए।
प्रहरीका अनुसार, हाल घटनाको सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।
Comment