काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक आर्थिक वर्षको अवधिमा करिब २ खर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ठूला जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६.०५ प्रतिशतले बढी हो।
अघिल्लो आवमा यी कम्पनीहरूले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए। समीक्षा अवधिमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। कम्पनीले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँको बीमा शुल्क आर्जन गर्दै १७.५९ प्रतिशत वृद्धि गरेको छ।
व्यवसायको आकारमा दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँको कारोबार गर्दै १६.७७ प्रतिशत वृद्धि हासिल गर्यो। वृद्धि दरमा अग्रणी सन नेपाल लाइफ इन्स्योरेन्सले २८.८० प्रतिशतले कारोबार विस्तार गरी ५ अर्ब ४५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भयो।
त्यस्तै, एशियन लाइफको कारोबार २७.२३ प्रतिशतले बढेर १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ पुग्यो। एलआइसी नेपालले १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँको कारोबार गर्दै १०.०४ प्रतिशत वृद्धि गर्यो। हिमालयन लाइफको कारोबार ६.३४ प्रतिशत वृद्धि भई १७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने सूर्यज्योति लाइफ १७.७५ प्रतिशत वृद्धि भई ११ अर्ब १८ करोड रुपैयाँमा सीमित रह्यो।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले १३.१० प्रतिशत वृद्धि गर्दै ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँको कारोबार गर्यो। सिटिजन लाइफले २०.८५ प्रतिशत वृद्धि भई ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँको बीमा शुल्क संकलन गर्यो।
अन्य कम्पनीहरूको कारोबार यसप्रकार छ — सानिमा रिलायन्स लाइफ ७ अर्ब ६९ लाख (१३.२१% वृद्धि), मेट लाइफ ६ अर्ब २५ करोड ८३ लाख (१०.२०% वृद्धि), आइएमई लाइफ ५ अर्ब ६५ करोड २७ लाख (१९.२३% वृद्धि), प्रभु महालक्ष्मी लाइफ ५ अर्ब ३७ करोड १ लाख (२२.८२% वृद्धि) र रिलायबल नेपाल लाइफ ५ अर्ब २८ करोड ४५ लाख (२५.५५% वृद्धि)।
प्राधिकरणका अनुसार, गत आर्थिक वर्षमा जीवन बीमा बजारको आकार र वृद्धि दुवै सकारात्मक रहँदा अधिकांश कम्पनीहरूले दोहोरो अंकको वृद्धि हासिल गरेका छन्।
Comment