काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा पहिलोपटक आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले दाबी गरेको छ। यद्यपि, सहभागीको संख्या उल्लेख्य भए पनि विगतका नाडा अटो एक्स्पो जस्तो खचाखच भिड भने देखिएको थिएन। आयोजकले दोस्रो दिनदेखि अवलोकनकर्ताको सहभागिता थप बढ्ने अपेक्षा गरेको छ।
यसपटकको प्रदर्शनीमा अटो व्यवसायीहरू विभाजित भएर दुई छुट्टाछुट्टै एक्स्पो आयोजना गर्न लागेकाले पनि दर्शक संख्यामा कमी आएको अनुमान गरिएको छ। नाइमा एक्स्पोमा सीमित गाडी आयातकर्ता र उत्पादक कम्पनीहरूको सहभागिता रहेको छ भने नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालमा देशभरका साना–ठूला व्यवसायीहरू आबद्ध छन्। नाइमामा सदस्य रहेका केही व्यवसायीहरू नै नाडामा पनि सदस्य भएकाले नाडाको आगामी प्रदर्शनी अझ वृहत र व्यापक हुने संकेत देखिएको छ।
विद्युतीय सवारीसाधन नै यसपटकको एक्स्पोको मुख्य आकर्षण बनेको छ। यस्ता गाडीहरू पहिल्यै ठुलो संख्यामा बिक्री भइसकेका कारण दर्शकहरू गाडी खरिदभन्दा पनि नयाँ मोडलको जानकारी लिन आउने प्रवृत्ति देखिएको छ। पहिलो दिनको न्यून बुकिङले पनि सो प्रवृत्तिको पुष्टि गरेको छ। व्यवसायीहरू मेला अवधिभर बुकिङमा सुधार आउने अपेक्षा राखिरहेका छन्।
नाइमाले प्रचारप्रसारमा अपेक्षाकृत कम सक्रियता देखाएको कारण दर्शकको सहभागिता अनुमानभन्दा कम भएको विश्लेषण गरिएको छ। त्यस्तै, देशको समग्र आर्थिक सुस्तता, घट्दो क्रयशक्ति र बढ्दो निराशा तथा आक्रोश ले अटोमोबाइल बजारमा असर परेको व्यवसायीहरूको धारणा छ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन्। साउन २० गतेदेखि सुरु भएको एक्स्पो साउन २४ गतेसम्म भृकुटीमण्डपमा सर्वसाधारणका लागि खुला रहनेछ। पहिलो दिन मात्रै ३५ भन्दा बढी नयाँ मोडलका गाडीहरू सार्वजनिक गरिएको आयोजकले जानकारी दिएको छ।
Comment