काठमाडौं । विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सपेङले जुलाई महिनामा कम्पनीको इतिहासमै सबैभन्दा धेरै गाडी डेलिभरी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीका अनुसार, उक्त महिनामा ३६,७१७ युनिट गाडी डेलिभरी गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२९ प्रतिशतले बढी हो। यो उल्लेखनीय वृद्धिले एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पुर्याएको छ भने नेपाली उपभोक्ताहरूमा पनि ब्रान्डप्रति विश्वास थप बलियो बनाएको कम्पनीको दाबी छ।
नेपालमा एक्सपेङ जी६ मोडेल तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। कम्पनीका अनुसार, जी६ सहरकेन्द्रित युवा व्यवसायी, विद्युतीय सवारी रोज्ने परिवार र लामो दूरी यात्रा गर्ने चालकहरूको प्राथमिक रोजाइ बन्दै गएको छ। यसको स्मार्ट प्रविधि, आधुनिक डिजाइन र सहज ड्राइभिङ अनुभवले नेपाली बजारमा प्रिमियम ईभीको परिभाषा नै परिवर्तन गरिरहेको छ। यद्यपि एक्सपेङका अन्य चर्चित मोडेलहरू जस्तै मोना र पी७ प्लस हाल नेपालमा उपलब्ध छैनन्, तिनको अन्तर्राष्ट्रिय सफलताले जी६ मा रहेको प्रविधिहरू—जस्तै एरोडायनामिक डिजाइन, एआई पावर्ड टियान्जी अपरेटिङ सिस्टम , ओटीए अपडेट, स्मार्ट पार्किङ र को–ड्राइभिङजस्ता फिचरहरू—प्रति उपभोक्ताको भरोसा अझ बढाएको छ।
विश्वभर हालसम्म ८ लाखभन्दा बढी एक्सपेङ गाडीहरू डेलिभर भइसकेका छन्। कम्पनीका अनुसार, यी गाडीहरूले हालसम्म ३.५३ मिलियन टन कार्बन डाइअक्साइड (CO₂) उत्सर्जन घटाउन मद्दत गरेका छन्, जसले कम्पनीको वातावरणप्रतिको प्रतिबद्धता झल्काउँछ। कम्पनीले नेपाल सरकारले लिएको स्वच्छ उर्जा नीति र दिगोपनको लक्ष्यसँग आफ्नो उद्देश्य मिल्दो रहेको समेत बताएको छ।
हाल एक्सपेङ ४६ भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरूमा उपस्थिति जनाइसकेको छ भने इन्डोनेसियामा स्थानीय उत्पादन सुरु गर्ने तयारीमा रहेको छ। नेपालमा पनि एक्सपेङ जी६ एक स्मार्ट, इफिसियन्ट र विश्वसनीय ईभीको रूपमा स्थापित हुँदै गएको छ।
Comment