काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयताको बारेमा नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा गम्भिर हुनुपर्ने बताएकी छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संघीयतालाई सुदृढ बनाउनको लागि तीन तहको बीचमा समन्वय हुनुपर्ने भन्दै यसमा नीतिगत रुपमा के समस्याहरु छन् त्यसमा गम्भिर हुनुपर्ने बताइन्।
‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्ने छ। हाम्रो संघीयतालाई सुदृढ बनाउनुपर्ने छ त्यसको लागि तीन तहको बीचमा समन्वय गर्नुपर्ने छ। कर्मचारी समायोजन, व्यवस्थापनका कुराहरु छन्। यी सबै पाटोलाई राम्रो गरि अध्यन गर्नुपर्छ भन्ने महशुस मैले गरेँ,’ उनले भनिन्, ‘संघीयताको बारेमा आज जस्तो खालको टिप्पणीहरु भई रहेको छ, जे प्रश्नहरु उठिरहेको छ। यो के कारणले उठि रहेको छ, हाम्रो नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा अनुभूत लिनुपर्छ भन्ने लागेको छ।’
मन्त्री न्यौपानेले सुशासनको विषयमा उठिरहेका प्रश्नलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको भन्दै उक्त छलफलबाट एउटा संयन्त्र नै बनाएर अगाडि बढौं भन्ने निर्णय भएर निर्देशन पनि दिएको बताइन्।
‘कर्मचारीतन्त्रमा सुशासनको विषयमा उठेका प्रश्नहरु थिए। जनतालाई सेवा दिने कुरामा पारदर्शि भएको छैन। भन्ने खालका प्रश्नहरु उठेका छन्,’ उनले भनिन्, ‘सानो कामको लागि पनि भनसुन गर्नुपर्छ भन्ने खालको मनोविज्ञान छ त्यसलाई कसरी अन्त्य गर्ने र सुशासनको विषयमा उठिरहेका प्रश्नलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल गरेका थियौं र त्यो एउटा संयन्त्र नै बनाएर अगाडि बढौं भनेर निर्णय निकालेर निर्देशन पनि दिएको छु।’
Comment