भदौ ३ देखि भृकुटीमण्डपमा नाडा अटो शो, मुख्य आकर्षणमा के छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ।

‘गो फर मोर’ भन्ने नारासाथ आयोजना हुने यो शोले नवीनतम प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक दिँदै अटो क्षेत्रका सम्पूर्ण सरोकारवालालाई एउटै मञ्चमा ल्याउने आयोजकको दाबी छ। कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने तय भएको छ।

शोमा युनिट्री रोबोट्स र दीपल ईभीटिओएल यूएभीजस्ता भविष्य उन्मुख प्रविधिहरू विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछ। नाडाका अनुसार शोमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे ब्रान्ड र ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक कम्पनीहरू गरी ३५ स्टलसहित १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन्।

करिब ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिने शोमा १ लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ, जुन नेपालकै अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ।

कार्यक्रमका प्रमुख आकर्षणमा विन्टेज मोटर शो, मेड इन नेपाल प्याभिलियन, इन्टरनेसनल बिजनेस प्याभिलियन, ईभी, स्मार्ट मोबिलिटी र दिगोपनसम्बन्धी सेमिनार, कार्यशाला तथा अन्तरक्रियात्मक सत्रहरू रहेका छन्।

शोको सफल सञ्चालनका लागि अग्रिम टिकट प्रणाली, ट्राफिक सूचना डेस्क, स्वास्थ्य सहायता, सुरक्षा निगरानी, आगो नियन्त्रण, मिडिया डेस्क लगायत सम्पूर्ण पूर्वाधार तयार गरिएको छ।

एमएडब्ल्यु वृद्धी टाइटल स्पोन्सर, शिखर इन्स्योरेन्स को-स्पोन्सर, क्याम्पा कोला पावर्ड बाइ, यांगो मोबिलिटी पार्टनर र खल्ती बाइ आईएमई एक्सक्लुसिभ टिकटिङ पार्टनर रहनेछन्। अग्रिम टिकटमा २० प्रतिशत क्यासब्याकको सुविधा दिइनेछ भने नेपाल ल्युब तेलले १२ भाग्यशाली विजेतालाई एक वर्षका लागि निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गर्नेछ।

नाडा अध्यक्ष करण चौधरीले विगतका १६ सफल संस्करण, अग्रणी ब्रान्डहरूको सहभागिता र लाखौं दर्शकको विश्वासले नाडा अटो शोलाई नेपालको अटो उद्योगको उत्कृष्ट मञ्चको रूपमा स्थापित गरेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।