काठमाडौं । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकले आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २ सय ६६ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिएको छ। यो संख्या नेपालबाट हुने श्रमिक पलायन अझै तीव्र भएको संकेत हो।
विदेश जाने श्रमिकमध्ये अधिकांश सीपविहीन अर्थात् अदक्ष श्रमिक रहेका छन्। एक वर्षमै २ लाख ७ हजारभन्दा बढी नेपाली सीप नलिई विदेशिएका छन्, जसमा २ लाख २ जना पुरुष र २४ हजारभन्दा बढी महिला रहेका छन्।
वर्षौँदेखि सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सीपमूलक तालिम दिएर पठाउने नीति ल्याउँदै आएको भए पनि व्यवहारमा भने अदक्ष श्रमिककै बाहुल्यता देखिएको छ।
यद्यपि, सीप लिएर विदेशिनेहरूको संख्या पनि उल्लेख्य रहेको छ। गत वर्ष ५ लाख ६ हजारभन्दा बढी नेपालीले तालिम लिएर विदेशिएका छन्। तीमध्ये ४ लाख ४७ हजारभन्दा बढी पुरुष र ५९ हजार ७ सय ५४ महिला छन्।
तथ्यांकअनुसार अर्धदक्ष श्रमिकको संख्या ९९ हजार ७ सय २३ छ भने व्यावसायिक तहमा ४ हजार ३ सय ७२ जना विदेशिएका छन्। दक्ष श्रमिकको संख्या भने निकै न्यून रहेको छ – जम्मा ९ सय ३७ जना, जसमा ६ सय ९२ पुरुष र २ सय ४५ महिला छन्।
पछिल्लो आर्थिक वर्षमा नेपाली श्रमिक १५१ देशमा वैधानिक रूपमा गएका छन्। यूएई, साउदी अरब, कतार, कुवेत र मलेसिया नेपाली कामदारका प्रमुख गन्तव्य हुन्। त्यस्तै १२ देशमा भने एक–एक जना मात्र नेपाली श्रमिक गएका छन्।
यता, वैदेशिक रोजगारमा जानेहरूको तथ्यांक विभागसँग भए पनि फर्किएर आउने र उतै स्थायी बसोबास गर्नेहरूको यकिन तथ्यांक छैन। तथापि, पछिल्लो समय खाडी मुलुक मात्र होइन, युरोपेली राष्ट्रहरूमा समेत नेपाली श्रमिकको आकर्षण बढेको देखिएको छ।
नेपाली समाजमा दशकौँदेखि श्रम निर्यातलाई वैदेशिक मुद्रा आर्जनको मुख्य विकल्प मानिँदै आएको छ। तर अहिले आएर यही श्रम पलायनले मुलुकले सीपयुक्त जनशक्ति गुमाउँदै गएको चिन्ताजनक अवस्था देखिएको छ।
सीपविहीन श्रमिकको बढ्दो संख्या, देशभित्र रोजगारीको न्यून अवसर र सीप विकास तालिमको कार्यान्वयन पक्ष कमजोर हुँदा अबको भविष्यप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ। सरकारको ‘तालिम दिएर पठाउने’ योजना अझै कागजमै सीमित रहेको तथ्यांकले नै पुष्टि गरेको छ।
Comment