काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहा भएका छन्। कारागार प्रशासनले सोमबार राति प्रक्रियागत काम पूरा गरी उनलाई जेलमुक्त गरेको हो।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालतले २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको राजावादी प्रदर्शनका मुख्य योजनाकारका रूपमा देखिएका प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
प्रसाईं केही समययता विभिन्न विवादास्पद गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो। अदालतको आदेशपछि अब उनी धरौटीमा रिहा भई स्वतन्त्र भएका छन्।
Comment