म्याग्दीमा ६६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो।

कम्पनीका सञ्चालक चन्द्र ढकालका अनुसार अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा चार हजार ३१९ मिटर लामो सुरुङ निर्माण कार्य सुरु गरिएको छ। सुरुङ खन्नका लागि सिभिल ठेकेदार रसुवा–मल्टि जेभीले विस्फोटक पदार्थको प्रयोग गर्दै काम अघि बढाएको हो।

अडिटको दुरी ४५९ मिटर रहेको छ भने बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटतर्फबाट हिउँद यामदेखि सुरुङ खन्ने तयारी भइरहेको छ। अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ पानी जम्मा गरिनेछ। उक्त पानीलाई १५१ मिटर तल अन्नपूर्ण–२ स्थित नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा झारेर विद्युत् उत्पादन गरिनेछ।

रन अफ द रिभर प्रविधिमा आधारित आयोजनाको विद्युत्गृह, स्विचयार्ड र कन्ट्रोल रुम सम्पूर्णरूपमा जमिनमुनि रहनेछ। सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोबोटिक सटकिन्ड उपकरणहरू प्रयोग गरिएको रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले जानकारी दिए।

उत्पादित विद्युत् नौनीबगरदेखि करिब सात किलोमिटर माथि दाना सवस्टेशन (२२० केभी) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

कूल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको आयोजना नविल बैंक लिमिटेडको नेतृत्वमा छ वटा वाणिज्य बैंकबाट ७५ प्रतिशत ऋण तथा बाँकी २५ प्रतिशत प्रवर्द्धक र सर्वसाधारण शेयर लगानीकर्ताबाट जुटाइनेछ।

नेपाल विद्युत् प्राधिकरणसँग गरिएको खरिद सम्झौताअनुसार हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दरले विद्युत् बिक्री गरिनेछ। हिउँदमा १३० गिगावाट उत्पादन भई १ अर्ब ९ करोड रुपैयाँ र बर्खामा २७७ गिगावाट उत्पादन भई १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

कालीगण्डकी बेसिन क्षेत्रमा हाल ३०० मेगावाटभन्दा बढी क्षमताका तीन जलविद्युत् आयोजनाहरू निर्माण अनुमति चरणमा छन्। तीमध्ये ६५ मेगावाटको माथिल्लो कालीगण्डकी र १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज आयोजना निर्माणको तयारीमा रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।