काठमाडौं । आज देशभरको मौसम बदली रहने र अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे मौसम बुलेटिनअनुसार दिउँसो र राति दुवै समयमा विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेष गरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना पनि छ।
राति पनि देशभर बदली रहनेछ र कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले चेतावनी दिएको छ।
मौसमविद्का अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै तराई क्षेत्रमा सक्रिय भएकाले देशभर वर्षा बढेको हो। महाशाखाले दिउँसोको समय बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म र रातिको समय साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मलाई मानेर पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का, १० देखि ५० मिलिमिटर मध्यम, ५० देखि १०० मिलिमिटर भारी, १०० देखि २०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ।
यस्तै, ‘एक-दुई स्थान’ भन्नाले सम्बन्धित क्षेत्रको १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने, ‘थोरै स्थान’ १०–३० प्रतिशत, ‘केही स्थान’ ३०–५० प्रतिशत, ‘धेरै स्थान’ ५०–८० प्रतिशत र ‘अधिकांश स्थान’ भनेको ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा वर्षा हुने सम्भावनालाई जनाउँछ।
मौसम विभागले वर्षासँगै सम्भावित बाढी, पहिरो र यातायातमा अवरोध हुन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
Comment