काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम आइतबार पनि जारी रह्यो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ६५.२० अंकले घट्दै २८५७.४३ बिन्दुमा झरेको छ ।
गत मंगलबार ३००२ बिन्दु पुगेर चार वर्षको उच्च बिन्दु छोएको नेप्से त्यसयता निरन्तर ओरालो लागेको हो ।
गत बिहीबार ३१.५० अंक र बुधबार ४७.९३ अंकको गिरावटपछि आइतबार पनि बजारमा नकारात्मक प्रभाव देखिएको छ ।
आइतबार नेप्सेमा १३ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने गत बिहीबार यो कारोबार १५ अर्ब ३६ करोड रुपैयाँको रहेको थियो ।
कारोबारमा संलग्न २३३ कम्पनीको सेयर मूल्य घट्दा केवल १६ कम्पनीको मूल्यमा वृद्धि भएको छ । ट्रेड टावर र शिभश्री हाइड्रोपावर कम्पनीको सेयरमा मात्रै सकारात्मक सर्किट लागेको हो भने सान्भी इनर्जीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
समता घरेलु लघुवित्तको सेयर मूल्यमा ९.९६ प्रतिशतको गिरावट देखिएको छ ।
बैंकिङ समूह सूचक २.२४ प्रतिशतले घटेको छ भने विकास बैंक समूह १.८३ प्रतिशत, फाइनान्स समूह १.५२ प्रतिशत, होटल तथा पर्यटन १.०६ प्रतिशत, जलविद्युत् समूह १.३५ प्रतिशत र लगानी समूह २.१७ प्रतिशतले घटेका छन् ।
यस्तै, जीवन बिमा २.१२ प्रतिशत, उत्पादन समूह २.४७ प्रतिशत, लघुवित्त ३.०२ प्रतिशत, निर्जीवन बिमा १.८५ प्रतिशत र व्यापार समूह १.४१ प्रतिशतले ओरालो लागेको छ ।
विश्लेषकहरूका अनुसार उच्च मूल्यवृद्धिपछि मुनाफा संकलन गर्ने लगानीकर्ताको प्रवृत्ति र बजारमा विश्वासको अभावले बजारमा नकारात्मक दबाव सिर्जना भएको हो ।
Comment