काठमाडौं । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ ।
भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यसै ट्रफीका लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषण गरेको हो । पछिल्लो संस्करण यस उमेरसमूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । यसपल्टमा भने भारतले आयोजना गर्न लागेको हो ।
नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छिन् । सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो ।
नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेलमैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्ला एक महिनादेखि प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए ।
यो टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्र रहेको छ । यस ट्रफीमा एसियाका विभिन्न ११ राष्ट्रबाट आठ वटा महिला र आठ वटा पुरुष यु–२० टोलीले प्रतिस्पर्धा गर्दैछन् । बिहारस्थित राजगीर रंगशाला प्रतियोगिता सञ्चालन हुने रग्बी संघले जनाएको छ ।
Comment