काठमाडौं । चर्चित हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले फोक्सोको क्यान्सरबाट पीडित एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई आर्थिक सहयोग गरेका छन्।
सुवेदीको हाल ललितपुरस्थित सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा उपचार भइरहेको बेला घिमिरेले त्यही अस्पतालमा पुगेर रु. ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।
सो अवसरमा एमस नेपाल इन्टरनेशनल प्रतियोगिताका आयोजक निशुकान्त झा पनि सहभागी थिए। कलाकार घिमिरेले भने, “उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो। मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्।”
साथै उनले अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि संकटमा परेका व्यक्तिहरूप्रति सहयोगी बन्न आग्रह गरे। आयोजक झाले घिमिरेद्वारा गरिएको सहयोगलाई सद्भावनायुक्त र प्रेरणादायी कदम भन्दै प्रशंसा गरे।
केही समयअघि मिसेस नेपालको नयाँ संस्करणको घोषणा कार्यक्रममा घिमिरेले सुवेदीलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। अहिले उनले त्यो प्रतिबद्धतालाई पार गरेर ५१ हजार रुपैयाँ प्रदान गरेका हुन्।
सुवेदी विगत केही समयदेखि फोक्सोको क्यान्सरबाट पीडित छिन्। सौन्दर्य प्रतियोगिताको ताज जितेपछि उनले सामाजिक क्षेत्रमै पनि सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। अहिलेको यो अवस्था मार्मिक भए पनि सहयोगी मनहरूले पुनः उनको आत्मबल बढाउने आशा गरिएको छ।
Comment