काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा पुनः क्रान्ति र नयाँ प्रकारको विद्रोह आवश्यक रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान प्रणालीमा प्रतिक्रियावादी शक्तिहरू सक्रिय रूपमा षड्यन्त्र गरिरहेको आरोप लगाए।
उनले भने, “हामी फेरि पनि वर्ग संघर्षमा बल दिँदैछौं। प्रतिक्रियावादीहरूको षड्यन्त्रको प्रतिरोध गर्न हामी एकताबद्ध हुँदैछौं। म जनयुद्धदेखि संविधान सभासम्मको यात्रामा नेतृत्वदायी भूमिकामा थिएँ र अहिले पनि जीवित छु, नेतृत्वमा छु। त्यसैले फेरि क्रान्ति र विद्रोहमार्फत उनीहरूलाई परास्त गर्नुपर्छ भन्ने दृढ संकल्पसहित अघि बढिरहेको छु।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन पहल भइरहे पनि त्यसमा बाधा पुर्याउने प्रयास भइरहेको दाबी गरे। “विषय अघि बढेको छ, तर चलखेल पनि भइरहेको छ। तिखो आँखाले हेरिरहनुपर्छ,” उनले भने, “यदि हामी एकतावद्ध हुन सक्दैनौं भने अप्ठ्यारो आउन सक्छ। त्यसैले म सबैमा एकताको अपिल गर्दछु।”
उनले जनयुद्धको ऐतिहासिक महत्वलाई स्वीकार गर्दै यसलाई राष्ट्रिय दिवसका रूपमा मनाइनुपर्नेमा जोड दिए। “यो विषय अदालतमा लैजानुपर्ने होइन, इतिहासको सम्मान गर्नुपर्छ,” प्रचण्डको भनाइ थियो।
Comment