काठमाडौं महानगरको खर्च विश्लेषणः को–को वडाले कति खर्च गरे?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँ बजेटमध्ये जम्मा १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ मात्रै खर्च गरेको छ।

यो कुल बजेटको ५२.१३ प्रतिशत मात्र हो, जसले महानगरको बजेट कार्यान्वयन कमजोरीतर्फ संकेत गर्छ। पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ र चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको थियो। तर खर्चको विवरण अनुसार, पुँजीगततर्फ ६ अर्ब ७३ करोड ९३ लाख ९८ हजार र चालुतर्फ ६ अर्ब ६२ करोड ९१ लाख १८ हजार रुपैयाँ मात्रै खर्च भएको देखिन्छ।

महानगरको कार्यालय सञ्चालनका लागि छुट्याइएको २० अर्ब २७ करोड ५८ लाख २२ हजार रुपैयाँ बजेटमध्ये ५०.२१ प्रतिशत अर्थात् १० अर्ब १८ करोड ७ लाख ८६ हजार रुपैयाँ खर्च गरिएको छ। यसमध्ये चालु खर्च ५ अर्ब ६७ करोड ६ लाख ५५ हजार र पुँजीगत खर्च ४ अर्ब ४४ करोड १ लाख ३१ हजार रुपैयाँ रहेको छ।

महानगरभित्रका ३२ वडामध्ये वडा नम्बर १२, १९ र २७ ले सबैभन्दा बढी बजेट खर्च गरेका छन्। वडा नम्बर १२ ले ८ करोड ८२ लाख ७३ हजारमध्ये ७ करोड ४७ लाख ७९ हजार रुपैयाँ खर्च गर्दै ८४.७१ प्रतिशत बजेट उपयोग गरेको छ। वडा नम्बर १९ ले ९ करोड २७ लाख ४२ हजारमध्ये ७ करोड ८१ लाख ७७ हजार (८४.२९%) खर्च गरेको छ। वडा नम्बर २७ ले पनि विनियोजनको ८३.९४ प्रतिशत खर्च गर्दै उच्च बजेट कार्यान्वयन देखाएको छ।

त्यसैगरी, वडा नम्बर ११ र वडा नम्बर १ सबैभन्दा कम खर्च गर्ने वडाका रूपमा देखिएका छन्। वडा नम्बर ११ ले १७ करोड ९८ लाख ८८ हजारमध्ये २ करोड ६५ लाख ५७ हजार अर्थात् १४.७६ प्रतिशत मात्रै खर्च गरेको छ। वडा नम्बर १ ले १८ करोड ३ लाख ६८ हजारमध्ये ६ करोड ३७ लाख ३३ हजार (३५.३४%) मात्र खर्च गरेको छ।

यसरी हेर्दा, काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ल्याएको ठूलो बजेटमध्ये करिब आधा मात्रै खर्च भएको देखिन्छ। केही वडाहरूले उल्लेखनीय रूपमा बजेट कार्यान्वयन गरे पनि अन्य धेरै वडाहरूमा ढिलासुस्ती देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।