काठमाडौं । रसुवामा असार २३ गते आएको बाढी र पहिरोबाट भएको क्षतिका लागि हालसम्म नेपाल बीमा प्राधिकरणमा ८४ करोड ८४ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ।
साउन १५ गतेसम्म ११ वटा निर्जीवन बीमा कम्पनीहरूले जम्मा ७३ वटा दाबी प्राप्त गरेका छन्। सबैभन्दा धेरै दाबी हिमालयन एभरेस्ट इन्स्योरेन्समा परेको छ, जहाँ दुईवटा दाबीमा मात्र करिब ५५ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ।
त्यसैगरी शिखर इन्स्योरेन्समा १५ वटा दाबीमा १६ करोड ९६ लाख, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख र नेपाल इन्स्योरेन्समा १ करोड ६३ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ।
क्षतिको प्रकारअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ जसमा ६ वटा दाबीमा ५८ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ। अन्य बीमा दाबीहरूमा सामुद्रिक बीमा १६ करोड २५ लाख, इन्जिनियरिङ/ठेकेदार जोखिम बीमा ५ करोड ४५ लाख, मोटर बीमा (सार्वजनिक) २ करोड ९८ लाख र मोटर बीमा (निजी) २ करोड १४ लाख रुपैयाँ रहेको छ।
Comment