काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोको उत्पादन बढाउन तथा कोडोबाट बनेका परिकारहरू उपभोग गर्न सबैलाई आग्रह गरेका छन्।
साउन १६ गते ‘राष्ट्रिय कोदो दिवस’ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोडोलाई केवल परम्परागत खाद्यान्न नभई पोषणीय दृष्टिकोणले पनि अत्यन्त महत्त्वपूर्ण बाली भएको बताएका छन्।
उनले भने, “कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ।”
प्रधानमन्त्रीका अनुसार सिँचाइबिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी बालीलाई प्रवर्द्धन गर्न सरकारले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाउने निर्णय गरेको हो।
उनले सबै नागरिकलाई सम्बोधन गर्दै लेखेका छन्, “कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरू उपभोग गरौं! कोदो दिवसको शुभकामना!”
कोदोको पोषण, वातावरणीय अनुकूलता तथा स्थानीय उत्पादन प्रणालीमा यसको योगदानलाई मूल्याङ्कन गर्दै सरकारले यस बालीलाई राष्ट्रिय प्राथमिकतामा राख्न थालेको हो।
Comment