काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकहरूलाई लचिलो मौद्रिक नीतिको दुरुपयोग नगर्न चेतावनी दिएका छन्। बुधबार वाणिज्य बैंकका अध्यक्षहरूसँगको छलफलमा उनले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्यअनुसार मात्रै योजना बनाउन निर्देशन दिए।
उनले विगतमा लचिलो नीति आएपछि जथाभावी लगानी गरेर बैंकिङ संकट निम्तिएको स्मरण गराउँदै, अहिले त्यस्तो गल्ती नदोहोर्याउन आग्रह गरे। गभर्नर पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीति बैंकिङ क्षेत्र सहज बनाउने उद्देश्यले ल्याइएको बताउँदै, अनावश्यक दबाब सिर्जना नगर्न समेत अध्यक्षहरूलाई सचेत गराए।
छलफलमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनको प्रस्तावमा ‘बैंकर र व्यवसायी छुट्याउने’ व्यवस्थाबारे अध्यक्षहरूले आपत्ति जनाउँदै, त्यसले आर्थिक गतिविधिमा असर पर्ने बताएका छन्। उनीहरूले उक्त व्यवस्थाअघि उपयुक्त ‘एक्जिट प्लान’ र पर्याप्त समय माग गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाफियाको प्रस्तावित संशोधनले उद्योगधन्दा प्रभावित हुने भन्दै सावधानीपूर्वक कार्यान्वयन गर्न सुझाव दिए।
Comment