काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा पूर्व नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै बानियाँ नयाँ नेता चुनिएका हुन्।
सतप्रतिशत मतदान भएको चुनावमा बानियाँले २२ मत प्राप्त गरेका थिए भने लामाले १४ मत पाए। एक मत बदर भएको थियो। यसअघि २०७९ सालको निर्वाचनमा लामा बानियाँलाई हराउँदै दलको नेता चयन भएका थिए।
दलका नेताविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मंगलबार भएको मतविभाजनमा २२ सांसदले पक्षमा र १५ सांसदले विपक्षमा मतदान गरेका थिए। लामाले विश्वास गुमाएपछि बुधबार नयाँ नेताको चयनका लागि मतदान गरिएको हो।
कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने व्यवस्था रहेकोले अब बानियाँको नेतृत्वमा बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति समेत हुन्। उनी अब प्रदेशको राजनीतिक नेतृत्व सम्हाल्ने प्रमुख भूमिकामा रहनेछन्।
Comment