काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’लाई नेपाली बजारमा भित्र्याउने औपचारिक घोषणा गरेको छ।
नाइमा (नेपाल अटोमोबाइल ईम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन) द्वारा साउन २१ गतेदेखि आयोजित हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ‘क्यारी’ ब्रान्ड अन्तर्गतका दुई नयाँ विद्युतीय भ्यान – केभान १ र केभान २ सार्वजनिक गरिनेछ।
हुन्डाई, बीएमडब्ल्यू तथा एसएमएल इसुजु जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका आधिकारिक वितरक रहेको लक्ष्मी ग्रुपले अब पूर्णतः विद्युतीय व्यावसायिक सवारी साधनमा समेत प्रवेश गर्दै आफ्नो विद्युतीय यात्रा अगाडि बढाउने संकेत दिएको छ।
‘क्यारी’ ब्रान्ड विश्वप्रसिद्ध चेरी कमर्सियल भेहिकल्स अन्तर्गत पर्छ, जुन विश्वभर आफ्नो भरपर्दो प्रविधि, उच्च सुरक्षा र सशक्त प्रदर्शनका लागि चिनिएको ब्रान्ड हो।
केभान १ र केभान २ मोडल व्यावसायिक र शैक्षिक प्रयोजनमा लक्षित छन्। व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङको ‘कमर्सियल भेरियन्ट’ र स्कुल÷कलेज प्रयोजनका लागि सुरक्षा प्राथमिकतासहित पहेँलो रङको ‘स्कुल भेरियन्ट’ उपलब्ध हुनेछ।
यी विद्युतीय भ्यानमा ५३ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको फुल चार्जमा अधिकतम ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार गाडीको औपचारिक लन्च तथा विस्तृत जानकारी नाइमा मोबिलिटी एक्स्पो २०२५ को अवसरमा सार्वजनिक गरिनेछ।
एलएक्सजी मोटर्स लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो, जसले वातावरणमैत्री र नवीन प्रविधिमा आधारित विद्युतीय सवारी साधन भित्र्याएर नेपालको दिगो यातायात विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
Comment