काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यतया बदली रहने र विभिन्न स्थानहरूमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
रातिको समयतिर देशको पहाडी भूभागमा सामान्यतया बदली र तराईमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रमा थोरै स्थानहरूमा र तराईमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी, गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
महाशाखाले वर्षाका कारण पहिरो, बाढी र सवारी आवागमनमा अवरोध आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
Comment