एउटै कम्पनीको सेयरमा दुईवटा आइजिन नम्बर दिन हुँदैन – इप्पान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि विवादित बन्दै आएको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजिन) प्रणालीमा प्रस्तावित परिवर्तनले जलविद्युत् क्षेत्रका व्यवसायीहरूमा चासो र असन्तुष्टि पैदा गराएको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेयर सूचीकरणका लागि संस्थापक र सर्वसाधारण समूहका सेयरहरूलाई अलग–अलग आइजिन नम्बर दिने प्रस्ताव नेपाल धितोपत्र बोर्डमा पेस गरेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले यसले लगानी वातावरणमा अन्योलता र असहजता उत्पन्न गर्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो।

इप्पानले जारी गरेको विज्ञप्तिमा संस्थापक, निजी क्षेत्र, वैदेशिक तथा सर्वसाधारण लगानीकर्ताबीच यस प्रस्तावले विश्वासको संकट निम्त्याउने उल्लेख छ। साथै, पुँजी बजारमा स्थापित अभ्यास, प्रचलित कानुन र अन्तर्राष्ट्रिय मान्यताको विपरीत यो कदमले नेपालको पुँजी बजार र विदेशी लगानीकर्ताको विश्वासमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।

विज्ञप्तिमा हाल एकै प्रकृतिका सेयरमा एउटै आइजिन नम्बर कायम रहँदा सेयर कारोबार सहज, पारदर्शी र चलायमान भएको उल्लेख गर्दै नयाँ व्यवस्था लागू भएमा सेयर कारोबारमा गम्भीर असर पर्ने तथा पुँजीगत लाभकर, ब्रोकरेज कमिसन र नेप्से आम्दानीमा गिरावट आउने उल्लेख गरिएको छ।

ऊर्जा क्षेत्रमा यसले विशेष असर पार्ने भन्दै इप्पानले आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य प्रभावित हुने र करिब ४० खर्बको अनुमानित लगानी जुटाउन कठिन हुने तर्क गरेको छ।

इप्पानले लगानीमैत्री वातावरण कायम राख्न हालको प्रणालीलाई यथावत् राख्न आग्रह गर्दै सीडीएससीको प्रस्ताव फिर्ता लिन माग गरेको छ। प्रस्तावित परिवर्तन कानुनी रूपमा पनि अवैधानिक भएको भन्दै, यसले स्वदेशी तथा विदेशी लगानीकर्तामा नेपालको पुँजी बजारप्रतिको विश्वास गुमाउने खतरा रहेको संस्थाको भनाइ छ।

सरल, पारदर्शी र दीर्घकालीन लगानीमैत्री प्रणाली नै देशको समृद्धिको आधार हुने भन्दै इप्पानले सबै सरोकारवालालाई जिम्मेवार र दूरदर्शी निर्णय लिन आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।