गुणस्तरीय दुग्ध उत्पादनलाई विश्व बजारमा पुर्‍याउन अध्यक्ष ढकालको जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा लैजानुपर्ने बताएका छन्।

नेपाल डेरी एसोसिएसनद्वारा आज काठमाडौंमा आयोजित खीर प्रवर्द्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले स्वदेशमै प्रशस्त दूध उत्पादन भइरहँदा पनि कतिपय डेरी वस्तु विदेशबाट आयात गर्नु परिरहेको अवस्थामा घरेलु उद्योगहरूले गुणस्तर र नवप्रवर्तनमा ध्यान दिनुपर्ने बताए।

“हामीसँग सम्भावना छ, स्रोत छ, तर अझै पनि आयातमा निर्भर हुनु दुःखद छ,” उनले भने, “अब स्वदेशी डेरी उद्योगले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उत्पादनमा ध्यान दिनुपर्छ।”

कृषिमा आधारीत ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउन पशुपालन र डेरी उद्योगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गर्नुपर्ने बताए। महासङ्घको पहलमा सरकारसँग मिलेर निजी क्षेत्रमैत्री कानुन बनाइए पनि ती कानुनहरूको कार्यान्वयनमा कमजोरी रहेको उनले गुनासो गरे।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुङ्गानाले कृषक र पशुपालकका समस्याहरू सम्बोधन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला तथा ठूला डेरी उद्योगहरूका हकहितका लागि संस्था क्रियाशील रहेको जानकारी दिए।

उनका अनुसार साउन १५ गतेको खीर खाने विशेष पर्वमा देशभर करिब ८० लाख लिटर दूधको खपत हुने र सोही अनुपातमा करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

कार्यक्रममा डेरी उद्योगको दिगो विकास, उत्पादक र उपभोक्ता बीचको दूरी घटाउने उपाय, गुणस्तर प्रमाणीकरण तथा स्थानीय उत्पादनको प्रवर्द्धनलगायत विषयमा पनि छलफल भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।