काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा संसदीय दलको नेताबाट हटाइए पनि आफू मुख्यमन्त्री पदबाट हट्नुपर्ने कुनै बाध्यता नरहेको भन्दै आक्रामक रुपमा अघि आएका छन्। मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले उनीविरुद्धको अविश्वास प्रस्ताव पारित गरेपछि पत्रकारहरूसँग कुरा गर्दै लामाले दलको नेता नभए पनि गठबन्धनको बहुमत रहेको अवस्थामा आफू मुख्यमन्त्रीको हैसियतमा कायम रहने दाबी गरेका हुन्।
“संविधानले स्पष्ट गरेको छ, पूर्ण बहुमतको सरकार हो भने मात्र दलको नेता अनिवार्य चाहिन्छ, गठबन्धन सरकारमा बहुमत जुटेपछि त्यो सर्त लागु हुँदैन,” लामाको दाबी छ। उनले आफूविरुद्धको प्रस्तावलाई ‘राजनीतिक षड्यन्त्र’को संज्ञा दिँदै आफन्तमाथि समेत दबाब सिर्जना गरिएको आरोप लगाए।
संसदीय दलको नेताबाट उनलाई हटाउने प्रस्ताव पक्षमा २२ मत परेको थियो भने लामा पक्षमा १५ मत मात्रै खसेको थियो। यद्यपि, उनले यो प्रक्रिया मात्र ‘दलभित्रको ड्रामा’ भएको भन्दै मुख्यमन्त्री पद त्याग्ने मनस्थिति नराखेको प्रष्ट पारे।
“मलाई हटाउन खोज्नेहरूले गठबन्धनको संख्या देखाउनुपर्छ, दलको नेता हटाउनु र सरकार गिराउनु एकै कुरा होइन,” लामाले चुनौतीपूर्ण शैलीमा भने, “यो सबै नियोजित योजना हो। मलाई थाहा नदिई जाल बुनिएको रहेछ, आफ्नै मन्त्रीहरूलाई समेत दबाब दिएर खेल खेलिएको रहेछ।”
लामाले अब संसदीय दलको नेताको रिक्त पदमा निर्वाचन प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्। उनले आफू उम्मेदवारी दिन्छन् कि दिँदैनन् भन्नेबारे पार्टीभित्र गम्भीर छलफलपछि निर्णय लिने बताए।
कांग्रेस संसदीय दलमा अब नेताको नयाँ चयनका लागि बुधबार मतदान हुने सम्भावना छ। दलको नेतृत्व परिवर्तन भए पनि लामाले मुख्यमन्त्री पदबाट आफूलाई हटाउन संसदमा स्पष्ट बहुमत पुर्याउन विपक्षीहरूलाई चुनौती दिएका छन्।
लामाको यो अडान अब बागमती प्रदेशको सत्ता समीकरणमा थप उथलपुथल ल्याउने देखिन्छ।
Comment