काठमाडौं । झापा इनर्जी लिमिटेडले भोलि साउन १४ गतेदेखि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउँदैछ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीले कुल ९ लाख ५० हजार ४७५ कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते स्वीकृति पाएको हो। यसमध्ये आयोजना प्रभावित बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ।
आयोजना प्रभावित मध्ये झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा आयोजनाको १०० मिटर वरपर बस्नेले १ लाख ९० हजार ९५ कित्ता र सो क्षेत्रबाहेकका स्थानीयले बाँकी १ लाख ९० हजार ९५ कित्तामा आवेदन दिन सक्ने छन्। आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म दिन सकिनेछ। तदनुसार, लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म लगानी गर्न सक्नेछन्।
आयोजना प्रभावितको लागि आवेदन अवधि साउन १४ देखि २८ गतेसम्म तोकिएको छ, जुन आवेदन पर्याप्त नभए भदौ १२ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन्, तर आवश्यकता अनुसार यो अवधि साउन २८ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।
फारम वितरणका लागि हिमालयन बैंक र माछापुच्छ्रे बैंकका सम्बन्धित शाखा तथा आयोजना कार्यालयबाट फारम उपलब्ध हुनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मेरो शेयर एप र धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले क्रेडिट रेटिङ संस्था ईक्रा नेपाल लिमिटेड बाट ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ पाएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
१० मेगावाट क्षमताको सौर्य आयोजनाको लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पर्न गएको छ। आयोजना ग्रीडमा आबद्ध भइसकेको छ र विद्युत अनुमति २२ वर्ष बाँकी रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि इक्विटीको ९.५५ वर्ष र सम्पूर्ण प्रोजेक्टको ८.०६ वर्ष छ भने डिस्काउन्टमा उक्त अवधि क्रमशः १३.४६ र १५.६६ वर्ष रहेको उल्लेख गरिएको छ।
आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। पहिलो चरणपछि सर्वसाधारणलाई दोस्रो चरणको आईपीओ निष्कासन गरिनेछ।
Comment