काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ आयोजना गर्दैछ। नेपालकै सबैभन्दा ठूलो सवारी प्रदर्शनी मानिएको यो एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले सहभागिता जनाउने भएका छन्।
नाइमाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एक्स्पोमा ३५ नयाँ मोडल पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिने जानकारी दिइएको छ। तीमध्ये धेरैजसो विद्युतीय प्रविधिमा आधारित सवारी साधन हुनेछन्।
एक्स्पोमा विभिन्न खाले दुईपांग्रे, चारपांग्रे र व्यावसायिक प्रयोजनका गाडीहरू सार्वजनिक हुनेछन्। दुईपांग्रे सवारीमा होन्डा, बजाज, केटीएम, सुजुकी, एनआईयू, गोगोरो, एथर इनर्जी, एम्पेयर, अल्ट्राभायोलेट, रिभोल्ट लगायतका ब्रान्डहरूले आफ्नो नयाँ इभी तथा पेट्रोल मोडल प्रस्तुत गर्ने तयारी गरेका छन्।
चारपांग्रे सवारीमा जाइको, बिवाइडी, चेरी, प्रोटोन, किया, महिन्द्रा जस्ता ब्रान्डका विद्युतीय कारहरू—जस्तै जे ५ ईभी, सिल लायन ७, इमास ७, बि-६, एक्सयुभी ई ९, किआ ईभी–५ लगायतका मोडलहरू पहिलोपटक सार्वजनिक गरिनेछन्।
यसैगरी, ट्रक, मिनीबस, भ्यान लगायतका व्यावसायिक सवारी साधनहरूमा डोङफेङ, सनलङ, स्काइवर्थ, किङलङ, फ्यारिजोन, क्यारी लगायत ब्रान्डका सवारीहरू सार्वजनिक हुनेछन्। स्मार्ट लजिस्टिक समाधान, फास्ट चार्जिङ, र स्मार्ट कनेक्टिभिटीजस्ता विशेषताले युक्त यी सवारी साधनले व्यवसायिक बजारमा नयाँ विकल्प दिन सक्ने अनुमान गरिएको छ।
मोबिलिटी एक्स्पो–२०२५ मा इलेक्ट्रिक सवारी क्षेत्रमा नवीनतम प्रविधिहरू, स्मार्ट कनिक्टेड फिचर, र भविष्यका लागि दिगो यातायात समाधानप्रति जनचासो केन्द्रित हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, नयाँ मोडलहरूको प्रि-बुकिङ, विशेष अफर र टेस्ट राइड अवसर समेत उपलब्ध हुनेछ।
नेपालमा बढ्दो इभी प्रवृत्ति, सरकारी प्रोत्साहन र उपभोक्ताको सरोकारलाई मध्यनजर गर्दै आयोजना गरिन लागेको यो एक्स्पोले नेपालको सवारी क्षेत्रलाई भविष्यतर्फ उन्मुख गराउने विश्वास लिइएको छ।
Comment