काठमाडौं । काठमाडौं महानगरपालिकाको कर्मचारी हुँ भन्दै १३ लाख २५ हजार असुली गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्ने २८ वर्षीय राजु लामा रहेका प्रहरीले जनाएको छ ।
लामाले काठमाडौं महानगरपालिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारी हुँ भन्दै प्रत्येक घरबाट रकम उठाउने गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका क्रममा उनी महानगरपालिकाको कर्मचारी नभएको, तर पटकपटक गरी हालसम्म १३ लाख २५ हजार असुली गरेको र उनको साथबाट नगद ६ हजार ५००, रसिद, बिलबिजक पाँच थान, कोटेश्वर बेष्ट कन्सर्नको महसुल कार्ड नौ थान, नेपाल फूलबारी सेवा प्रालिको सरसफाइ शुल्क कार्ड दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी, एसपी अपिल राज बोहोराले जानकारी दिए ।
Comment