अर्थ मन्त्रालयले पायो एमसीसीले निरन्तरता पाउने औपचारिक जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा कार्यान्वयन भइरहेका परियोजनाहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।

नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयले औपचारिक सूचना जारी गर्दै एमसीसी परियोजनाहरू यथावत् सञ्चालन हुने जानकारी दिएको हो। यसअघि काठमाडौंस्थित अमेरिकी दूतावासले पनि नेपालमा एमसीसी परियोजनाहरूलाई अपवादका रूपमा निरन्तरता दिने संकेत गरेको थियो।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि अमेरिकाले अधिकांश मुलुकलाई दिइँदै आएको विदेशी सहायता कार्यक्रम ९० दिनका लागि रोक्का राख्ने निर्णय लिएको थियो। सो अवधिमा सम्बन्धित सहायता कार्यक्रमहरूको पुनरवलोकन गरिने नीति ल्याइएको थियो।

तर नेपाललाई भने अपवादस्वरूप यो निर्णयबाट छुट दिइएको छ। अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार, अमेरिकी पक्षले नेपाल कम्प्याक्ट परियोजना पुनरवलोकन गरिसकेको र यसलाई निरन्तरता दिन सिफारिस गरिएको जानकारी प्राप्त भएको छ।

नेपालमा एमसीसी अन्तर्गतको परियोजना विशेष गरी ३१२ किलोमिटर लामो प्रसारण लाइन निर्माण तथा सडक सुधारमा केन्द्रित छ। यस परियोजनाले नेपालको ऊर्जा पूर्वाधार र क्षेत्रीय विद्युत व्यापारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालले सन् २०१७ मा एमसीसीसँग ५० करोड डलर बराबरको अनुदान सहायता सम्झौता गरेको हो, जसमा नेपाल सरकारले पनि थप १३ करोड डलर बराबरको योगदान गर्नेछ।

अर्थ मन्त्रालयका अनुसार एमसीसी परियोजना अब बिना रोकावट अघि बढ्नेछ, जसले पूर्व निर्धारित लक्ष्यअनुसार समयमै सम्पन्न हुने विश्वास दिलाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।