काठमाडौं । साउन महिनाको दोस्रो सोमबारको अवसरमा काठमाडौंको सुन्दरीजलमा हजारौं भक्तजन ‘बोल बम’ यात्राका लागि जम्मा भएका छन्। हिन्दू धर्मालम्बीहरूले साउनको सोमबार शिवभक्तिको विशेष दिनका रूपमा मनाउने परम्परा अनुसार आज बिहानैदेखि भक्तजन सुन्दरीजलस्थित वाग्मती नदीको किनारमा स्नान गर्न पुगेका हुन्।
स्नानपछि भक्तजनहरू शुद्ध पहिरनमा बोल बम भन्दै पैदल यात्रा गर्दै सो जल पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन्। आजको यात्रा बोल बम काँरिया संघ र सनातन युवा मञ्च नेपालको आयोजनामा सम्पन्न भएको हो।
सुन्दरीजल प्रहरी प्रभागका अनुसार आजको यात्रामा करिब १० हजारभन्दा बढी भक्तजन सहभागी भएका छन्। भक्तजनहरूको सुरक्षाका लागि प्रहरी प्रशासनले बिहानैदेखि व्यापक व्यवस्था मिलाएको छ।
पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरूको सहज प्रवेश सुनिश्चित गर्न पशुपति क्षेत्र विकास कोषले पनि तयारी गरेको छ। कोषका सदस्य–सचिव सुभाषचन्द्र जोशीका अनुसार आज विशेष दिन भएकाले पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै श्रद्धालुहरूका लागि खुला गरिएको थियो।
साउन महिनाभर यस्ता धार्मिक गतिविधि व्यापक हुने भएकाले सुरक्षाकर्मी र स्वयंसेवकहरू परिचालन गरिएको छ। आयोजकहरूले भक्तजनलाई अनुशासितरूपमा यात्रा गर्न तथा पवित्रता कायम राख्न आग्रह गरेका छन्।
बोल बम यात्रा पछिल्लो समय युवापुस्तामाझ समेत लोकप्रिय बन्दै गएको छ, जसले धार्मिक आस्था मात्र होइन, सांस्कृतिक चेतनाको प्रवर्द्धनमा पनि योगदान दिइरहेको देखिन्छ।
Comment