काठमाडाैं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशका प्रमुख राजनीतिक दल र तिनका शीर्ष नेताहरूमाथि गम्भीर आरोप लगाउँदै संस्थागत लुट र सत्ता नछाड्ने प्रवृत्ति नै मुलुकको मुख्य समस्या भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको आरोप लागेपछि रास्वपाले सुरु गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउँदै पार्टी कार्यालय पुगेका सिंहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुराना दलहरूको प्रवृत्तिको कडा आलोचना गरेका हुन्।
सिंहले यदि रवि लामिछानेलाई षड्यन्त्रपूर्वक फसाउने प्रयास गरिएमा आगामी २०८४ सालको निर्वाचनमा पुराना दलहरूको जमानत जफत हुने चेतावनी दिएका छन्। “रविलाई जेलमा हाल्ने दिन नआओस्, यदि आयो भने जनताले जवाफ दिन्छन्,” उनले भने, “२०८४ मा तिनको जमानत जफत हुनेछ।”
अमेरिकाका पूर्वराष्ट्रपति ओबामाको उदाहरण दिँदै उनले नेपालको नेतृत्व शैलीमाथि व्यङ्ग्य गरे। “अमेरिकामा ओबामा ८ वर्षपछि घर जान्छन्, यहाँ ८२ वर्षका नेताहरू छैटौं पटक प्रधानमन्त्री बन्ने सपना देख्छन्,” भन्दै उनले सत्तामोहले देशलाई थला पारेको बताए।
भुटानी शरणार्थी प्रकरणमाथि संसदमा आवाज उठाएको दाबी गर्दै सिंहले ठूला दलहरूबीचको मिलेमतोका कारण त्यस विषयलाई दबाइएको आरोप पनि लगाए। “कांग्रेस र एमालेबीच संसदमा छलफल नगर्ने सहमति थियो, त्यसैले शरणार्थी मुद्दा हरायो,” उनले भने।
सिंहले विगत ३० वर्षमा शिक्षा, स्वास्थ्य, प्रशासन र प्रहरी संस्थाहरूलाई दलहरूले नै बिगारेको उल्लेख गरे। “विश्वविद्यालय, अस्पताल, प्रहरी—सबैमा पार्टीकरण भयो। निष्पक्षता गुमाइयो,” उनले आरोप लगाए।
सांसद सिंहले अन्तमा चुनौती पनि दिए—“यदि कांग्रेस र एमालेका शीर्ष नेताहरू सुरक्षा बिना जनतामाझ हिंड्न सक्छन् भने म राजनीति नै त्याग्छु।”
उनको यो टिप्पणीले सत्तारूढ र प्रमुख प्रतिपक्षी दलहरूलाई नै आक्रामक रूपमा लक्षित गरेको छ, जसले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई लिएर फेरि बहस चर्काउन सक्छ।
Comment