काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सामान्य असन्तुष्टिहरूमा ‘अधिनायकवाद’ शब्दको धडाधड प्रयोग भइरहेको भन्दै त्यसप्रति कटाक्ष गरेका छन्। उनले अधिनायकवादको वास्तविकता अनुभव नगरेका व्यक्तिहरू नै यस्ता आरोप लगाउने गरेको बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१’ समर्पण समारोहमा आइतबार बोल्दै उनले प्रजातन्त्र प्राप्तिका लागि आफू र आफ्नी पुस्ताले खेपेको संघर्ष स्मरण गरे।
“आज जुन लोकतान्त्रिक सहजता छ, त्यो हाम्रै बलिदानको परिणाम हो। आज सामान्य असन्तुष्टिमा पनि ‘अधिनायकवादी’ भनेर आरोप लगाइन्छ, तर अधिनायकवाद कस्तो हुन्थ्यो भन्ने कुरा जेल, हत्कडी र कालकोठरी भोगेकाहरूलाई थाहा छ,” प्रधानमन्त्री ओलीले भने।
उनले जननायक बीपी कोइरालाजस्ता नेताहरूको उदाहरण दिँदै, त्यसबेला नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको लागि जोखिम मोलेको स्मरण गरे। “बीपी र पुष्पलालजस्ता नेताहरू अब कुनै एक दलका मात्र होइनन्, समग्र देशका साझा धरोहर हुन्,” उनले जोड दिए।
चार स्रष्टालाई बीपी पुरस्कार
समारोहमा प्रधानमन्त्री ओलीले साहित्य, राजनीति र समाजसेवामा योगदान पुर्याएका चार स्रष्टालाई जनही रु. १ लाख राशिसहित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ प्रदान गरे।
यस वर्ष पुरस्कृत हुनेहरूमा साहित्यतर्फ वरिष्ठ कवि तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ र साहित्यकार भुवन ढुंगाना कोइराला रहेका छन्। यस्तै, राजनीतिक र सामाजिक क्षेत्रमा योगदान पुर्याएका नयनसिंह कडायत र मीना सुब्बा पनि सम्मानित भए।
नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ मा स्थापना गरेको यो पुरस्कार हरेक वर्ष बीपी कोइरालाको योगदानको स्मरणमा प्रदान गरिँदै आएको छ।
Comment