चितवन । बागमती प्रदेशमा आफ्नै मुख्यमन्त्रीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका बहुसंख्यक सांसदहरूले मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। कुल ३७ जना कांग्रेस प्रदेश सांसदमध्ये २१ जना सांसदले संसदीय दलको नेताबाट लामालाई हटाउन प्रस्ताव दर्ता गराएका हुन्।
सांसदहरूले लामाको स्थानमा इन्द्रबहादुर बानियाँलाई कांग्रेस संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने मागसमेत अघि सारेका छन्।
दर्ता गरिएको अविश्वास प्रस्तावमा मुख्यमन्त्री लामाले बजेटको प्रभावकारी कार्यान्वयन गर्न नसकेको, राजस्व संकलन र खर्चको अवस्था नाजुक रहेको, तथा जनताले प्रत्यक्ष महसुस गर्ने सेवा प्रवाहमा कमजोरी देखिएको जस्ता गम्भीर आरोपहरू उल्लेख छन्।
यही आन्तरिक असन्तोषको कारण केही समयअघि कांग्रेस सरकारमा रहेका चार मन्त्रीले पदबाट राजीनामा दिएका थिए, जसलाई असन्तुष्टि चुलिएको संकेतको रूपमा हेरिएको थियो। लामाको नेतृत्वमा सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट कार्यक्रमप्रति पार्टीभित्रै तीव्र असहमति देखिएको थियो।
यो घटनाले बागमती प्रदेशको सत्ता समीकरणमा परिवर्तनको संकेत दिएको छ। यदि प्रस्ताव सफल भयो भने कांग्रेसले नयाँ नेताको नेतृत्वमा सरकार पुनःगठन गर्ने तयारी थालेको छ। अबको प्रदेशसभा बैठक र पार्टीभित्रको निर्णयले बागमतीको राजनीति कुन दिशामा मोडिन्छ भन्ने चासो बढ्दो छ।
Comment