काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गरे अब पाँच सय जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे अब प्रतिपटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । हालै सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत सो व्यवस्था गरिएको हो ।

महानगर क्षेत्रभित्र सार्वजनिक स्थानमा अत्यधिक धुम्रपान भइरहेको र त्यसबारे जनगुनासा बढिरहेको भन्दै महानगरले आर्थिक ऐनमार्फत जरिवाना लागु गर्ने निर्णय गरेको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक स्थलमा धुम्रपान नगर्न पटक–पटक आग्रह गरिएको भए पनि गुनासा आउन नछाडेपछि कडाइ गर्नुपर्ने अवस्था आएको बताए ।

‘सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने प्रावधान पहिले देखिनै थियो, तर हाम्रा हटलाइनमा धेरै गुनासा आइरहेकाले अब प्रतिपटक पाँच सय जरिवाना गर्ने गरी व्यवस्था गरिएको हो,’ पाण्डेले भने । उनका अनुसार निजी सम्पत्ति बाहेकका सबै सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको छ ।

धुम्रपानमात्र होइन, पार्किङ, विज्ञापन तथा सार्वजनिक स्थलको संरक्षणसम्बन्धी विषयमा पनि आर्थिक ऐनमा नयाँ जरिवाना व्यवस्था गरिएको छ । महानगरले तोकिएको स्थान बाहेक पार्किङ गरेमा सवारी साधनअनुसार जरिवाना गरिने भएको छ ।

दुईपांग्रे सवारी (मोटरसाइकल, स्कुटर) लाई एक हजार रुपैयाँ, चारपांग्रे (कार, जीप, भ्यान) लाई दुई हजार पाँच सय, मझौला सवारी (मिनीबस, मिनीट्रक) लाई तीन हजार पाँच सय र ठूला सवारी (बस, ट्रक) लाई पाँच हजार रुपैयाँ जरिवाना गरिने छ ।

त्यस्तै, प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा दस हजार रुपैयाँ जरिवाना गरिने छ । सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमार्फत बिना अनुमति गरिएको विज्ञापनमा दश हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यस्तै, पर्चा, पम्प्लेट, पोस्टर, स्टिकर टाँस्ने, ब्रोसर तथा प्रचार सामग्री वितरण गरी सार्वजनिक स्थान फोहोर गर्ने कार्यमा पाँच हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । त्यस्तै, खम्बा वा पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य, स्वीकृति नलिई बेलुन वा यस्तै प्रकारका माध्यमबाट गरिएको विज्ञापनमा पनि पाँच हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना गरिने छ ।

सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा पनि पाँच हजारदेखि पचास हजारसम्म जरिवाना गरिने महानगरले जनाएको छ । यस्तै, सार्वजनिक वा संरक्षित स्थानमा रहेका रुखबिरुवामा क्षति पुर्‍याएमा पाँच सयदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।