काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा विरुद्ध आफ्नै पार्टीका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद उत्कर्षमा पुगेपछि २१ जना प्रदेशसभा सांसदहरू, जसमा हालैसम्म मन्त्री रहेका चारजना समेत छन्, कांग्रेस सांसदहरूले नै लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
उक्त प्रस्तावको अगुवाइ प्रदेशसभा सदस्य इन्द्र बानियाँले गरेका छन्। उनले मुख्यमन्त्री लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन प्रस्ताव अघि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार, लामाले पार्टी निर्णयविपरीत कार्य गर्दै आएको र सरकार सञ्चालनमा समावेशी तथा सहमतिमा आधारित शैली नअपनाएको आरोप प्रस्तावमा उल्लेख छ।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रमप्रति कांग्रेसभित्रै तीव्र असहमति देखिएको थियो। बजेट निर्माणको प्रक्रियाबाट धेरै सांसदहरू वञ्चित गरिएको, प्राथमिकतामा दलगत हैसियतअनुसार विभेद गरिएको तथा पार्टीको नीति विपरीत निर्णय गरिएको आरोपसँगै असन्तोष चुलिएको थियो।
यसै कारण केही समयअघि कांग्रेसका चार मन्त्रीहरूले पदबाट राजीनामा दिएका थिए, जसलाई सरकारमा असन्तुष्टि र अविश्वासको संकेतको रूपमा लिइएको थियो।
अविश्वास प्रस्तावसँगै अब बागमती प्रदेशको राजनीतिमा नयाँ समीकरणको सुरुवात हुनसक्ने संकेत देखिएको छ। यदि प्रस्तावले आवश्यक बहुमत प्राप्त ग¥यो भने मुख्यमन्त्री परिवर्तन हुने सम्भावना प्रबल हुनेछ। कांग्रेसभित्रकै भागबन्डा, नेतृत्वशैली र समन्वयको अभावका कारण उत्पन्न यो संकट प्रदेशको स्थायित्वमा गम्भीर असर पार्नसक्ने विश्लेषण हुँदै आएको छ।
प्रदेश सभामा नेपाली कांग्रेस प्रमुख दलका रूपमा रहेको भए पनि आन्तरिक फुटले सरकार सञ्चालन र निर्णय प्रक्रियामा गहिरो प्रभाव पारिरहेको देखिएको छ। अबको दिनमा अविश्वास प्रस्तावले कुन दिशा लिन्छ भन्ने विषयमा सम्पूर्ण पक्षको ध्यान केन्द्रित भएको छ।
यो पनि…
यी हुन् बहादुरसिंहविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने कांग्रेसका २१ सांसद (सूचीसहित)
Comment