काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा देशभरबाट व्यापक समर्थन जनाउँदै हस्ताक्षर अभियान तीव्र गतिमा अघि बढेको छ।
रास्वपा प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार बागमती प्रदेशमा मात्रै ७ लाख १३ हजार ३३१ हस्ताक्षर संकलन भइसकेको छ। यसैगरी, देशका अन्य प्रदेशहरूमा समेत उल्लेख्य संख्यामा हस्ताक्षर प्राप्त भएका छन्। कोशी प्रदेशमा २ लाख १३ हजार १०६, मधेस प्रदेशमा १ लाख ४ हजार ३६०, गण्डकी प्रदेशमा ५ लाख १२ हजार ९१४, लुम्बिनी प्रदेशमा २ लाख ५२ हजार ४३१, कर्णाली प्रदेशमा ७२ हजार १४२ र सुदूरपश्चिम प्रदेशमा १ लाख १० हजार ५१२ हस्ताक्षर संकलन गरिएको छ।
यसका अतिरिक्त, रास्वपाको केन्द्रीय कार्यालयमार्फत ३६ हजार ५१० हस्ताक्षर प्राप्त भएका छन् भने काठमाडौंमा र्याट व्यवस्थापन बुथमार्फत ७४ हजार ११३ हस्ताक्षर संकलन भएको छ। अनलाइन माध्यमबाट पनि उल्लेखनीय साथ पाइएको छ, जहाँ ह्वाट्सएपमार्फत ७ लाख ५५२ र इमेलमार्फत ८३ हजार ५६६ हस्ताक्षर प्राप्त भएको जनाइएको छ। कुल मिलाएर हालसम्म ३३ लाख ७३ हजार ५६७ हस्ताक्षर संकलन भइसकेको छ।
प्रवक्ता मनीष झाले यो अभियान अझै केही हप्ता जारी रहने जनाउँदै जनताको रवि लामिछानेप्रतिको समर्थन असाधारण रहेको बताए। रास्वपाले यस अभियानलाई “जनताको समर्थन, जनतासँग प्रतिवद्धता” भन्ने नारासहित सञ्चालन गरिरहेको छ।
Comment