काठमाडौं । फिल्म ‘अञ्जिला’को व्यावसायिक सफलतापछि निर्देशक मिलन चाम्स आफ्नो नयाँ प्रोजेक्ट ‘सुम्निमा’को तयारीमा जुटेका छन्। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यस फिल्मका लागि कलाकार छनोटको प्रक्रिया जारी छ।
फिल्ममा यसअघि नै कन्साङ बम्जा र उपासना सिंह ठकुरीलाई अनुबन्ध गरिसकिएको छ। अब निर्माण पक्षले बुधबार अभिनेता अनुपविक्रम शाही पनि फिल्ममा अनुबन्ध भएको जानकारी सार्वजनिक गरेको छ। यद्यपि, शाही फिल्ममा खलपात्रको भूमिकामा देखिने हुन् वा उपासना सिंहको जोडीका रूपमा प्रस्तुत हुने भन्नेबारे हालसम्म स्पष्ट गरिएको छैन।
यो फिल्म निर्देशक मिलन चाम्स र अभिनेता अनुपविक्रम शाहीको चौथो सहकार्य हो। यसअघि उनीहरूले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’मा सँगै काम गरिसकेका छन्। ‘सुम्निमा’मार्फत सात वर्षपछि उनीहरू फेरि एकसाथ काम गर्न लागेका हुन्।
फिल्मको कथावस्तु लेखक राजीव थापाले तयार पारेका छन्। सुम्निमा सामाजिक, सांस्कृतिक र भावनात्मक पृष्ठभूमिमा आधारित फिल्म हुने बताइएको छ। निर्देशक चाम्सले ‘सुम्निमा’लाई अबको ठूलो परियोजनाका रूपमा अघि बढाउने योजना बनाएका छन्।
Comment