सारथी केवल इन्डष्ट्रीजले आईपीओ ल्याउँदै, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको केबल तथा तार उत्पादन क्षेत्रमा अग्रणी कम्पनी सारथी केवल इन्डस्ट्रीज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि सिटिजन्स क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा सारथी केवल इन्डस्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक गर्ने योजना सार्वजनिक गरेको छ। यस आईपीओमार्फत संकलित रकम कम्पनीले भूमिगत (अन्डरग्राउन्ड) केबल उत्पादन सुरु गर्ने र नयाँ आल्मुनियम फर्नेस प्लान्ट स्थापना गर्ने उद्देश्य राखेको छ। कम्पनीले यस योजनालाई नेपालको विद्युत पूर्वाधार आधुनिकीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको बताएको छ।

सम्झौता कार्यक्रमका अवसरमा अध्यक्ष भुसालले यो सहकार्य नेपालको विद्युत क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशातर्फको सार्थक पहल भएको बताए। उनले भने, “हामी राष्ट्रिय आवश्यकता र भविष्यको मागअनुसार आन्तरिक उत्पादनमा आधारित सशक्त प्रणाली विकास गर्दैछौं।”

त्यस्तै, सिटिजन्स क्यापिटलका प्रमुख श्रेष्ठले सारथी केवलसँगको सहकार्य गौरवको विषय भएको उल्लेख गर्दै यो आईपीओले लगानीकर्तालाई सुगम अवसर प्रदान गर्नुका साथै मुलुकको केवल उत्पादन क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको सन्दर्भमा विद्युत प्रसारण र वितरणमा गुणस्तरीय केबलको आवश्यकता झनै बढेको छ। यस्तो पृष्ठभूमिमा सारथी केवलले मल्टी-स्ट्र्यान्ड केबल, पावर केबल, कन्सेन्ट्रिक केबल तथा एसीएसआर कन्डक्टर उत्पादनमा देखाएको विशेषज्ञता महत्वपूर्ण ठहरिएको छ। करिब १८ वर्षदेखिको अनुभव बोकेको कम्पनीले आगामी दिनमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।