एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा उद्योग मन्त्री भण्डारीसहित व्यवसायीसँग वृहत अन्तरक्रिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्यौलता र त्यसले निजी क्षेत्रमा पारेको प्रभावबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारीसहित निजी क्षेत्रका १५० भन्दा बढी उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले एमआरपी तथा लेबलिङको नाममा भइरहेको कडाइपूर्ण बजार अनुगमनका कारण आफूहरू अनावश्यक दुःखमा परेको गुनासो गरे।

कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले एमआरपी कार्यान्वयन गर्नु अघि सरोकारवाला निकायहरूसँग सर्वपक्षीय छलफल र सहमति आवश्यक रहेको धारणा राखे। उनले विशेष गरी अधिकांश उपभोग्य वस्तुहरू आयातमा निर्भर रहेको सन्दर्भमा एमआरपी लेबल व्यवस्था लागू गर्न व्यवहारिक समस्या आउने बताए। अध्यक्ष अग्रवालले भन्सार प्रयोजनका लागि अझै सन्दर्भ मूल्यको अभ्यास कायमै रहेको उल्लेख गर्दै विश्व व्यापार संगठनको मान्यता अनुसार वास्तविक कारोबार मूल्यलाई स्वीकार गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी उल्लंघनका आधारमा व्यवसायीहरूलाई अत्यधिक जरिवाना गरिरहेको भन्दै यस्ता गतिविधिले हालको कमजोर औद्योगिक वातावरण झनै बिग्रन सक्ने चेतावनी दिए। साथै, उनले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनु अधिकार हो भन्दै बजारमा व्यापक जनचेतना फैलाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।

उक्त अन्तरक्रियामा मन्त्री दामोदर भण्डारीले व्यवसायीहरूको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै आवश्यक समन्वयमा थप छलफल गरी मात्र एमआरपी कार्यान्वयनको प्रक्रिया अघि बढाइने प्रतिवद्धता जनाए। मन्त्री भण्डारीका अनुसार व्यवसायमैत्री ढंगले नीति लागू गर्न सरकार प्रतिबद्ध छ। कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको पनि सहभागिता रहेको थियो। अधिकांश व्यवसायीहरूले एमआरपी र लेबलिङसम्बन्धी स्पष्ट जानकारी नहुँदा समस्या उत्पन्न भएको बताउँदै, सरकारबाट स्पष्ट दिशा–निर्देश र सचेतनामूलक कार्यक्रमको माग गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।