काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति सबैभन्दा गहिरो चिन्ता तथा सरोकार माओवादीलाई नै रहेको बताएका छन्।
बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेको भन्दै त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो व्यक्त गरे।
‘बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन,’ उनले आन्दोलनको स्मरण गर्दै भने, ‘गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो।’
दाहालले माओवादी आन्दोलनमार्फत महिलाहरू, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भइसकेको र ती अधिकारहरू अब उल्ट्याउन नसकिने दाबी गरे।
उनले पछिल्ला दिनमा गहिरो विचार, अध्ययन र त्यागमा आधारित आन्दोलन र नेताहरूको आलोचना गर्ने प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त गरे। ‘आजभोलि सुसंस्कार र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,’ उनले भने।
अध्यक्ष दाहालले कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूबाट जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको बताए। यस्तो प्रवृत्तिले देशलाई गलत दिशातर्फ लैजाने खतरा रहेको उनले चेतावनी दिए।
‘देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र पलायन प्रवृत्ति हाबी हुँदै गइरहेका छन्,’ उनले भने, ‘यस्ता प्रवृत्तिविरुद्ध जनतालाई सही इतिहास बुझाउन पुस्तकजस्ता सशक्त माध्यमहरू उपयोगी हुन सक्छन्।’
कार्यक्रमको समापनमा अध्यक्ष दाहालले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
Comment