पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता निष्क्रिय : एमाले महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको स्पष्ट पारेका छन्।

बुधबार पार्टीको ९औं केन्द्रीय कमिटी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भण्डारीले सदस्यता नवीकरण नगरेपछि उक्त विषय स्वाभाविक रूपमा निष्क्रिय भएको बताएका हुन्।

‘पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण नगरेपछि हामीले त्यसबारे तत्काल सार्वजनिक नगर्ने निर्णय गरेका थियौँ,’ पोखरेलले भने, ‘उहाँले आफैँ सार्वजनिक गरेपछि मात्र पार्टीले त्यसबारे धारणा सार्वजनिक गर्‍यो।’

उनका अनुसार पूर्वराष्ट्रपतिको भूमिकालाई विशिष्ट मान्दै केन्द्रीय कमिटीले उनलाई पुनः सक्रिय राजनीति नफर्कनु उचित हुने निष्कर्षमा पुगेको छ।

‘उहाँको भूमिकालाई केन्द्रीय कमिटीले फरक रूपमा लिएको छ,’ पोखरेलले भने, ‘त्यही कारण उहाँको सदस्यतालाई आवश्यक ठानेनौँ। त्यसैले यो सदस्यता स्वतः निष्क्रिय भइसकेको छ।’

पोखरेलले पार्टीको निर्णयलाई पूर्वराष्ट्रपति भण्डारीले स्वभाविक रूपमा लिने विश्वास व्यक्त गरे। ‘उहाँले लोकतन्त्रको भावना अनुसार पार्टी निर्णयलाई स्वीकार गर्नुहुनेछ भन्ने अपेक्षा राख्छौँ,’ उनले भने।

नेकपा एमालेका वरिष्ठ नेतृ समेत रहेकी भण्डारी राष्ट्रपति बन्नुअघि लामो समय पार्टी राजनीतिमा सक्रिय थिइन्। राष्ट्रपति पदबाट अवकाश लिएपछि उनको भविष्यको राजनीतिक यात्रा प्रति चासो बढिरहेका बेला पार्टीले सदस्यता निष्क्रिय भएको औपचारिक धारणा सार्वजनिक गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।