काठमाडौं । अब दोस्रो बजारबाट सेयर खरिद गर्न चाहने लगानीकर्ताको बैंक खातामा पर्याप्त रकम भएको अवस्थामा मात्र कारोबार गर्न पाइने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने घोषणा गरेको हो।
बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार, “दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ।” यसले सेयर कारोबारमा पारदर्शिता बढाउनुका साथै जोखिम नियन्त्रणमा सहयोग पुग्ने सेबोनको विश्वास छ।
त्यस्तै, अबदेखि धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ) मा आवेदन दिनासाथ बैंक खाताको रकम रोक्का हुने व्यवस्था पनि गरिनेछ। आवेदन दिँदा आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाले सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट ‘एपीआई’ लिएर प्रणालीमै रकम भेरिफिकेसन गरी तत्कालै रोक्का गर्ने, बाँडफाँटपछि फुकुवा गर्ने प्रक्रिया लागू गरिने सेबोनले जनाएको छ।
बोर्डका अनुसार यी व्यवस्थाले प्रणालीगत जोखिम न्यूनीकरण गर्ने, लगानीकर्ताको हित प्रवर्द्धन गर्ने र पुँजी बजारप्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।
साथै, इक्यूटी डेरिभेटिभ बजार विकासका लागि आवश्यक पूर्वाधार निर्माण र कारोबार प्रणालीको सहजीकरणमा पनि सेबोनले पहल गर्ने जनाएको छ।
बोर्डले मर्चेण्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, व्यापारी, सामूहिक लगानी कोष तथा सूचीकृत संस्थाहरूले पेश गर्नुपर्ने विवरणको ढाँचा समेत एकरूप बनाउँदै कार्यान्वयनमा ल्याउने बताएको छ।
नवीन व्यवस्थाका रूपमा जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्ने र लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी बनाउन समन्वयात्मक पहल गरिने सेबोनको नीति तथा कार्यक्रममा उल्लेख छ।
यसैगरी, सार्वजनिक निष्कासनबाट संकलन भएको रकम तोकिएको उद्देश्यअनुसार परिचालित भए/नभएको अनुगमन सुरु गरिने र सदस्य दलाल व्यवसायीहरूले लगानीकर्ताको आदेश कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ‘ब्याकअप सिस्टम’ प्रभावकारी रुपमा सञ्चालन गरिरहेका छन् वा छैनन् भन्नेबारे पनि अनुगमन गरिने सेबोनले स्पष्ट पारेको छ।
सेबोनको यो नीति कार्यान्वयनमा आएमा नेपाली पुँजी बजार थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री हुने अपेक्षा गरिएको छ।
Comment